On "Aamako Mutu"
नेपालका ठग डक्टरहरूको पोल खोलिएको "आमाको मुटु" पढुन्जेल मजा आयो । रमाइलो पारामा लेखक रामेश कोइरालाले स्वास्थ्यक्षेत्रको विकृति उजागर गरेका छन् । मुटुको प्वालसम्बन्धी रोग लागेकी आमालाई अर्थोकै रोगको दबाइ दिँदै, सुई घोच्दै शारीरिक तथा मानसिक यातना दिने डक्टरका नाममा कलंकहरूबाट आजित भएर रुसमा लगेर आमाको सफल उपचार गराएको यो संस्मरणमा लेखकले आफ्नो बाल्यकालीन क्रियाकलाप, स्वदेश तथा विदेशमा पढाइका घटना, जागिर खोज्दाका दु:ख तथा मुटुरोगको चिकित्सक हुँदाका कामको रुचिकर वर्णन गरेका छन् । औपन्यासिक पुट पाएको यो संस्मरणमा "कर्नाली ब्लुज" को प्रभाव देख्न पाइन्छ । हँसाउने, रुवाउने, सोच्न बाध्य पार्ने अनेकौं प्रसग छन् यहाँ । कृषि विकास ब्यांकको जागिरको अन्तर्वार्ताको "भुँ भुँ भुँ" को सन्दर्भमा म त मरीमरी हाँसें । तर कुनै कुनै प्रसंग भने अनावश्यक लम्ब्याइएका छन् । तिनमा सम्पादनको कैँची चलाउन सकिन्थ्यो । अनि परोपकार गर्न पुस्तकको मूल्य रु. ५० बढी राखेको चित्त बुझेन । समग्रतामा कुरा गर्दा पुस्तक पठनीय छ ।
